विश्वव्यापी सञ्चित सम्पत्तिमा सुनको वर्चस्व : युरोलाई पछि पार्दै दोस्रो स्थानमा

सुनको मूल्य वृद्धि र केन्द्रीय बैंकहरूको ठूलो खरिदले यसलाई विश्वव्यापी सञ्चित सम्पत्तिमा दोस्रो स्थानमा पुर्‍याएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २९ जेठ २०८२, १०:४२ AM
फन्ट
विश्वव्यापी सञ्चित सम्पत्तिमा सुनको वर्चस्व : युरोलाई पछि पार्दै दोस्रो स्थानमा

 

काठमाडौं, २९ जेठ - सुन विश्वका केन्द्रीय बैंकहरूको लागि दोस्रो सबैभन्दा महत्वपूर्ण सञ्चित सम्पत्ति बन्न पुगेको छ। युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अनुसार, सुनले विश्वव्यापी सञ्चित सम्पत्तिको रूपमा युरोलाई पछि पार्दै दोस्रो स्थान ओगटेको छ। यसको प्रमुख कारण केन्द्रीय बैंकहरूले गरेको अभूतपूर्व सुन खरिद र सुनको मूल्यमा आएको ठूलो वृद्धि हो।

बुधबार प्रकाशित ईसीबीको रिपोर्ट अनुसार, गत वर्ष सुनले विश्वको आधिकारिक सञ्चित सम्पत्तिमा २० प्रतिशत हिस्सा ओगटेको थियो, जुन युरोको १६ प्रतिशतभन्दा बढी हो। विश्वव्यापी रिजर्भ एसेटको रूपमा अमेरिकी डलरको दबदबा भने अझै कायम छ, जसले ४६ प्रतिशत हिस्सा ओगटेको छ।

ईसीबीका अनुसार, केन्द्रीय बैंकहरूले अभूतपूर्व गतिमा सुन सञ्चय गरिरहेका छन्। सन् २०२४ मा लगातार तेस्रो वर्ष केन्द्रीय बैंकहरूले १००० टनभन्दा बढी सुन खरिद गरेका छन्, जुन विश्वको कुल वार्षिक उत्पादनको करिब २० प्रतिशत हो र सन् २०१० को दशकको औसत वार्षिक खरिदको दुई गुणा हो।

विश्वका केन्द्रीय बैंकहरूले सञ्चय गरेको सुनको भण्डार विश्व युद्धपछिको ब्रेटन वुड्स युगको ऐतिहासिक उच्च स्तर नजिक पुगेको छ। सन् १९७१ सम्म विश्वव्यापी विनिमय दरहरू अमेरिकी डलरमा स्थिर थिए, जसलाई निश्चित दरमा सुनमा रुपान्तरण गर्न सकिन्थ्यो। १९६० को दशकको मध्यतिर ३८ हजार टन रहेको केन्द्रीय बैंकको सुन सञ्चिति सन् २०२४ मा ३६ हजार टन पुगेको ईसीबीको तथ्यांकले देखाएको छ।

ईसीबीको रिपोर्ट अनुसार, अहिले विश्वका केन्द्रीय बैंकहरूले सन् १९६५ जतिकै सुन सञ्चय गरिरहेका छन्। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार, गत वर्ष सुनका प्रमुख खरिदकर्ताहरूमा भारत, चीन, टर्की, र पोल्याण्ड रहेका थिए। सुनको मूल्यमा गत वर्ष ३० प्रतिशतको वृद्धि हुनु पनि विश्वव्यापी विदेशी सञ्चितिमा सुनको हिस्सा बढ्नुको मुख्य कारण थियो।

यस वर्षको सुरुदेखि सुनको मूल्य थप २७ प्रतिशतले वृद्धि भई प्रति ट्रोय औंस ३,५०० डलरको ऐतिहासिक उच्च स्तरमा पुगेको छ। केन्द्रीय बैंकहरूको भण्डारण र उच्च बजार मूल्यका कारण सन् २०२४ मा सुन अमेरिकी डलरपछि दोस्रो सबैभन्दा ठूलो विश्वव्यापी रिजर्भ सम्पत्ति बन्न सफल भएको ईसीबीको रिपोर्टले जनाएको छ।

सम्बन्धित (पुरानो)
आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.