विद्यालय शिक्षा ऐनको मागमा शिक्षक महासङ्घद्वारा देशव्यापी अनिश्चितकालीन हड्ताल सुरु

सोमबार, २५ चैत २०८१, १:१६ PM
post-image

काठमाडौं, २५ चैत । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयहरूमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको छ। महासङ्घले गत बुधबारदेखि काठमाडौंमा आन्दोलनलाई तीव्र बनाउँदै आएको थियो भने आजदेखि शिक्षण कार्य पूर्ण रूपमा ठप्प पार्दै देशव्यापी हड्तालमा जाने घोषणा गरेको हो।

महासङ्घका पदाधिकारीहरूले विद्यालय शिक्षा ऐनको अभावले शिक्षकहरूको अधिकार, सेवासुविधा, र पेशागत सुरक्षामा अन्योलता बढेको भन्दै आन्दोलनलाई अनिश्चितकालसम्म निरन्तरता दिने अडान राखेका छन्। उनीहरूले संघीय सरकार मातहत शिक्षक व्यवस्थापन हुनुपर्ने, स्थायीत्वको सुनिश्चितता, बढुवा प्रक्रिया स्पष्ट र न्यायसंगत हुनुपर्ने, तथा शिक्षण पेशालाई सम्मानजनक बनाउन कानुनी संरचना आवश्यक रहेको बताउँदै आएका छन्।

हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई सङ्घीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ । 

यस हड्तालका क्रममा देशभरका विद्यालयहरू बन्द हुने भएका छन्। साथै, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, र शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन महासङ्घले शिक्षकहरूलाई निर्देशन दिएको छ।

महासङ्घले यस आन्दोलनलाई विद्यालय शिक्षा ऐन जारी गराउने अन्तिम र निर्णायक संघर्षको रूपमा लिएको छ। माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी पनि महासङ्घले दिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}