कुलमानको बर्खास्ती: देशव्यापी विरोध, मन्त्रीको पुत्ला दहन

सरकारले हिजो चैत ११ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि देशव्यापी विरोध सुरु भएको छ। घिसिङलाई हटाएको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएर प्रदर्शन गरेका छन्। एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका थिए।
कुलमानको चारवर्षे कार्यकाल आउँदो साउनमा सकिँदै थियो, तर सरकारले उनलाई चार महिनाअघि नै हटाउने निर्णय गरेपछि चौतर्फी विरोध सुरु भएको हो। सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। कुलमानलाई हटाएकोमा सरकारमै रहेको नेपाली कांग्रेसले पनि विरोध गरेको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालालगायतका नेताहरूले कुलमानलाई हटाउनु गलत भएको बताएका छन्।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारले गलत गरेको बताएका छन्। विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायतका दलहरूले पनि सरकारको यो कदमको विरोध गरेका छन्। कलाकारहरूले पनि सरकारको यो कदमको विरोध गरेका छन्।