उत्तर कोरियाले युक्रेन यूद्धका लागि थप सेना पठाएको दाबि

शुक्रबार, १६ फाल्गुण २०८१, ११:६ AM
post-image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न खोजिरहेकै बेला उत्तर कोरियाले रुसमा युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी गरिएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले रुसमा थप सेना पठाएको दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार जनाएको हो । युक्रेनविरुद्धको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि थप सेना पठाइएको दाबि गरिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । एनआईएसले रुसको कुर्स्क क्षेत्रमा ठूलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि बताएको छ । यसपछि, रुसले यहाँबाट उत्तर कोरियाली सेनालाई हटाएको थियो । तर फेब्रुअरीको पहिलो हप्तामा सैनिकहरू फेरि यहाँ तैनाथ गरिएको बताइएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी ७ मा आफ्नो सम्बोधनमा कुर्स्कमा युक्रेनमाथि आक्रमण बढिरहेको बताएका थिए । यहाँ उत्तर कोरियाली सैनिकहरू रुसी सेनासँग लडिरहेको उनले दाबि गरेका थिए ।

पश्चिमी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजार भन्दा बढी सेना तैनाथ गरेको दाबि गरेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको शिकार भएको दाबी गरिएको छ ।

गत महिना, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले रुस-युक्रेन युद्धमा लगभग ३०० उत्तर कोरियाली सैनिक मारिएको र २,७०० जना घाइते भएको बताएको थियो । जबकि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मारिएका वा घाइते भएका उत्तर कोरियालीहरूको संख्या ४ हजार रहेको बताएका थिए । दक्षिण कोरियाले अब जनवरी र फेब्रुअरी बीच कुर्स्कमा थप एक देखि तीन हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेको छ ।

दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले अगस्ट २०२३ देखि रूसमा तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारका लगभग १३ हजार कन्टेनर पठाएको बताएको छ । युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्त्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाले डर महसुस गरेको छ । अर्कोतर्फ रूसले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई पनि सहयोग गर्न सक्ने दक्षिण कोरियाको आशंका रहेको छ । युक्रेन युद्धमा गरेको सहयोगको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक र अन्य सहयोग पाउने आशा पनि राखेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}