नेपालका लागि एमसीसी परियोजनामा ६.८ अर्ब थप अनुदान

शुक्रबार, १९ पुष २०८१, १२:२३ PM
post-image

काठमाडौं, १९ पुस । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्टका लागि थप ६ अर्ब ८० करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) अनुदान प्रदान गर्ने निर्णय गरेको छ। यो रकम नेपाल सरकारको लागत साझेदारीसहित २०८० साल भदौदेखि कार्यान्वयन भइरहेको ९२ अर्ब रुपैयाँ बराबरको परियोजनाका लागि उपलब्ध गराइने एमसीसी सञ्चालक समितिले जनाएको छ।

एमसीसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “नेपालको विकास प्राथमिकता सम्बोधन गर्न रुपान्तरणकारी र उच्चस्तरीय पूर्वाधार परियोजनाहरू मार्फत दीर्घकालीन योगदान पुर्‍याउने नेपाल सरकार र एमसीसीको साझेदारीमा यो निर्णय महत्वपूर्ण छ।”

थप अनुदानबाट नेपालको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण गर्न, दीर्घकालीन आर्थिक वृद्धिलाई टेवा दिन र परियोजनाको सफलता सुनिश्चित गर्न सहयोग पुग्ने एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले बताए।

परियोजनाअन्तर्गत ४०० केभी क्षमताको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण हुनेछ। यसमा काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन निर्माण गर्ने योजना छ। साथै, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म विद्युत् प्रसारण लाइन विस्तार हुनेछ।

यो संरचनाले नेपाल–भारतबीच ३,००० मेगावाट विद्युत् आदानप्रदान सम्भावना खुला गराउन मद्दत गर्ने विश्वास गरिएको छ। एमसीसीको यो निर्णयले नेपाललाई ऊर्जा पूर्वाधारमा आत्मनिर्भर बनाउँदै क्षेत्रीय ऊर्जा व्यापारलाई पनि प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}