जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको पहिलो संस्करणको
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले लिग चरण र क्वालिफायर वानमा भोगेको हारको बदला समेत लिएको हो।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लाहिरु मिलान्थाले उत्कृष्ट प्रदर्शन गर्दै ४९ बलमा ९ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ८७ रन बनाए। कप्तान आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका उनले जनकपुरलाई जिततर्फ अघि बढाए। आसिफले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए।
त्यस्तै, हर्शक थाकरले अविजित ३० रन बनाए भने मयन यादव विजयी रन प्रहार गर्दै २ रनमा अविजित रहे। जनकपुरको इनिङ्समा स्कट कुगेलेइन, दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब, र इशान पाण्डेले समान १ विकेट लिए।
यसअघि, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो। ओपनर सैफ अली जैबले ४३ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए भने विनोद भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको सहयोगले ४१ रन जोडे। जैब र भण्डारीले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। तर, मध्य र तल्लो क्रमका ब्याट्सम्यानले योगदान दिन नसक्दा सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमायो।
जनकपुरका बलर किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए भने ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर १ विकेट लिए। जारी प्रतियोगितामा ललितले सर्वाधिक ५ मेडन ओभर फालेका छन्। ललित र स्कट कुगेलेइनले समान १७ विकेट लिएर प्रतियोगिताका शीर्ष बलर बने।
फाइनलमा शानदार प्रदर्शन गरेका लाहिरु मिलान्था प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी बने। उनले १० खेलमा २ अर्धशतकसहित २९३ रन बनाए।