पति हिरासतमा हुँदा केही मिडियाले पुरुषार्थ देखाए, झुटो प्रचार गरेर धर्म छोडे: निकिता पौडेल
 
                काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहँदा उनकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमले गरेका आरोपप्रति आपत्ति जनाउँदै तथ्य प्रमाणित गर्न चुनौति दिएकी छिन्।
निकिताले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई लक्षित गरेर झुटा र अप्रमाणित आरोप लगाइएको बताएकी छन्। उनले रविले सहकारीबाट ऋण लिएको आरोप प्रमाणित गर्न चुनौति दिँदै अहिलेसम्म कुनै प्रमाण नआएको उल्लेख गरिन्। उनले भनेकी छन्, “मेरो खातामा कति पैसा छ भनेर अनुमान लगाउनुभन्दा सोधेको भए बताउने थिएँ। सम्पूर्ण बैंकिङ विवरण प्रहरीलाई बुझाइसकेकी छु। मिडियाले धर्म नछोडेको भए तथ्यांक एउटै हुनुपर्ने हो।”
उनले यो विषयलाई लिएर बुवासँग भएको रमाइलो कुराकानीको प्रसङ्ग पनि शेयर गरिन्। उनका अनुसार, “बुवाले बिहानै फोन गरेर हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त १५, २५, ५० करोड रहेछ भनेर मिडियाले भनेको छ। मलाई अलिकति देऊ न।’ मैले पनि हाँस्दै भनेँ, ‘त्यत्रो पैसा भएरै त होला, ४ करोडमा किनेको घरको किस्ता तिरिरहेको छु।’”
निकिताले मिडियाको कार्यशैलीलाई संवेदनहीन भन्दै यसप्रति दया लागेको बताइन्। उनका अनुसार, श्रीमान् हिरासतमा रहेको बेला उनीमाथि गरिएको 'पुरुषार्थ' समाजले चुपचाप हेरेकोमा आफू आश्चर्यचकित भएको बताइन्।
यस विषयमा समाचार लेख्दा मिडियाले धर्म छोडेको आरोप लगाउँदै उनले भनेकी छन्, “मिडियाले झुटा खबर फैलाएर समाजमा भ्रम सिर्जना गरिरहेको छ। यस्तो संवेदनशील विषयमा यसरी गैरजिम्मेवार व्यवहार किन देखाइएको होला भनेर सोचिरहेकी छु।”
यस्तो छ निकिताले लेखेको स्टाटस
 
                            