चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ।
तीन वटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। तीन वटै आयोजनाहरूबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०-१३२-३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।
१४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ।
४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत उत्पादन सुरू गरिएको छ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरू हुने छ।
दुवै आयोजनाहरूबाट यही महिनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुनेछ। नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत उत्पादन हुन्छ।
चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीन वटा आयोजनाहरू सम्पन्न भएका हुन्।
सबै आयोजनाहरू २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिव अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड-१९को महामारी, कोभिड-१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए। यसले गर्दा आयोजनाहरूको निर्माण प्रभावित भएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धी भएको बताए। ‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका बेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाहरूको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबुबाहिरको परिस्थितिका कारण आयोजनाहरूको निर्माणमा केही समय लागे तापनि अब तीन वटा आयोजनाहरूको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरू भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’, कार्यकारी निर्देशक घिसिङले भने।
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही बृद्धि भएको छ। माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाहरूको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो। आयोजनाको प्रवर्द्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए।
सिइओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाहरूको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे। चिलिमेका चार वटै आयोजनाहरूमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।
कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरू (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरू तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीहरु, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।
माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुने छ। माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ।
यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ। उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सिइओ सिंहले बताए।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.