पाकिस्तानमा गाडीबाट ओरालेर गोली हानी कम्तीमा ३९ जनाको हत्या
पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र आक्रमणकारीहरूले गोली हानी कम्तीमा ३९ जनालाई मारिदिएको अधिकारीहरूले बताएका छन्।
आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ।
सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ।
कसरी भयो घटना
बलोचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय र पृथक्तावादी हिंसा हुँदै आएको छ।
सशस्त्र समूहले परिचयपत्र जाँच्दै पन्जाब प्रान्तका मानिसहरूलाई छुट्ट्याएर गोली हानेको र सवारीसाधनमा आगो लगाइदिएको आरोप अधिकारीहरूले लगाएका छन्।
बलोच लिबरेशन आर्मी (बीएलए) नामक लडाकु समूहले मुसाखेल जिल्लामा भएको उक्त घटना आफूले गराएको दाबी गरेको छ।
स्थानीय अधिकारी नजिबुल्लाह काकरका अनुसार उक्त घटनामा ३० देखि ४० लडाकु संलग्न थिए।
"उनीहरूले २२ वटा गाडी रोके," उनले समाचारसंस्था एएफपीसँग भने।
"पन्जाबबाट आएका र पन्जाबतिर जान लागेका गाडीहरूमा जाँच गरियो अनि पन्जाबका मानिसहरूलाई पहिचान गरी गोली हानियो।"
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले उक्त घटनालाई "आतङ्कवादी आक्रमण" को सङ्ज्ञा दिँदै त्यसको निन्दा गरेका छन्।
बीएलए के भन्छ
समाचारसंस्था रोएटर्सका अनुसार बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको छ।
उक्त घटनाअघि बीएलएले बलोचिस्तानका सर्वसाधारणलाई राजमार्गबाट यात्रा नगर्न चेतावनी दिएको थियो।
उसले आफ्नो सङ्घर्ष "[बलोचिस्तान] कब्जा गर्ने पाकिस्तानी सेनाविरुद्ध" भएको बताएको थियो।
"बलोचिस्तानभरि हामीले सबै मुख्य राजमार्गमा पूर्ण नियन्त्रण कायम गरेका छौँ र उनीहरूलाई पूरै रोकेका छौँ," उसले भनेको छ।
बलोचिस्तानमा किन तनाव
बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। प्राकृतिक स्रोतमा निकै धनी भए पनि उक्त प्रान्त सबैभन्दा कम विकसित छ।
बीएलए र अन्य बलोच पृथक्तावादी समूहहरूले बलोचिस्तानमा काम गर्ने पन्जाबी र सिन्धी समुदायका मानिसमाथि आक्रमण गर्ने क्रम बढाएका छन्।
बलोचिस्तानसँग नाफा नबाँडी दोहन मात्रै गरेको आरोप लगाउँदै ती समूहहरूले विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निसाना बनाउने गरेका छन्।
विगत २४ घण्टामा बीएलएले प्रहरी चौकी र सुरक्षाकर्मीका क्याम्पसहित कैयौँ सरकारी संरचनामा शृङ्खलाबद्ध आक्रमण गरेको छ।
गत वर्ष एप्रिलमा भएको एउटा आक्रमणमा बलोचिस्तानमा एउटा बसका नौ यात्रुलाई बाहिर निकालेर उनीहरूको परिचयपत्र जाँच्दै गोली हानी हत्या गरिएको थियो।
बलोचिस्तान लिबरेशन आर्मी कस्तो सङ्गठन हो?
बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। यूके र अमेरिकासहित कैयौँ पश्चिमा देशहरूले यो समूहलाई ‘अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन्।
पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ। उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ।
अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ।
यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ।
सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलए सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।
पाँच वर्षको द्वन्द्वपछि इरानका शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो। लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलए पनि पाकिस्तान सरकारविरुद्ध सक्रिय भयो।
यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन्।
बीबीसी
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.