सुमेरु सहकारीको स्वामित्व लिए पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहले
काठमाडौं- सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।
ललितपुर पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको बारेमा समितिले सोमबार सिंहलाई सिंहदरबार बोलाएर बयान लिएको हो।
बयानमा सिंहले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बताएको समिति सभापति सूर्य थापाले बताए।
‘उहाँले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराउनुभयो,’ थापाले भने।
सिंह सोही सहकारी संस्थाका शेयर सदस्य हुन्। ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंह केही समयदेखि अग्रसरता लिँदै कानुनी परामर्शमा थिए।
सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैं लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका हुन्।
भरतको पुल्चोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालिमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित उनी सक्रिय छन्।
उक्त सहकारी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ।
ब्युरोका अधिकृतहरूका अनुसार पुल्चोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको छ। सो सहकारीका कोही पनि पक्राउ परेका छैनन्।
प्रमुख सञ्चालक भरत महर्जनविरूद्ध पक्राउ पूर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ।
कालिमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्युरोमा परेको छ। त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन्।
बाबु-छोरा र नातेहरू संलग्न दुबै सहकारी डुबेपछि महर्जन परिवारै बेलायत पलायन भएका छन्।
पुल्चोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिष्टारको कार्यालयमा दर्ता छ भने कालिमाटीको सुमेरु काठमाडौं महानगरपालिकामा दर्ता छ।
भरतले स्थापना गरेको पुल्चोकको सुमेरु सहकारीको हालको अध्यक्ष उनकी श्रीमती राजमाया महर्जन छिन्। कालिमाटीको सहकारीको अध्यक्ष छोरा सचिन महर्जन छन्। यी दुबै सहकारीमा महर्जन परिवारका नातागोता मुख्य हर्ताकर्ता रहेका छन्।
पुल्चोकको सुमेरुको धापाखेल र गठ्ठाघरमा शाखा छ। उक्त सहकारीको धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, शंकरापुर एकेडेमी छन्।
सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन्।
महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरू गरेका थिए।
महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए। उनले २०६९ सालमा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए।
उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्मलगायत काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए।
सहकारीको निक्षेप रकम अन्य कम्पनीहरूमा लगानी गरेकाले महर्जन परिवार सहकारी अपचलनमा फसेका हुन्।
कालिमाटीको सुमेरु सहकारीका ५८ निवेदकमध्ये जनामध्ये २६ जनाले बचत फिर्ता भए मिलापत्र गरिदिन भनी ब्युरोमा उजुरी दिएको प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
‘सबै बचतकर्ताले निवेदन दिए भने र उनीहरूको निक्षेप फिर्ता भएको खण्डमा सरकारी वकिलको कार्यालयमा मिलापत्र गराउन सकिन्छ,’ उनले भने, ‘अन्यथा, ठगी मुद्दा चलिरहन्छ।’
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.