सेबीले अनिल अम्बानीलाई ५ वर्षका लागि पुँजीबजारबाट प्रतिबन्ध गर्यो, २५ करोड रुपैयाँ जरिवाना

शुक्रबार, ७ भदौ २०८१, ३:३९ PM
post-image

 भारतीय सेयर बजार नियामक संस्था, सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगपति अनिल अम्बानी र रिलायन्स होम फाइनान्स लिमिटेड (RHFL) का २४ जना पूर्व उच्च पदस्थ कर्मचारीहरूलाई पाँच वर्षका लागि पुँजीबजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यस निर्णय अन्तर्गत, सेबीले अम्बानीलाई पुँजीबजारसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाउँदै, २५ करोड रुपैयाँको जरिवाना समेत गरेको छ। साथै, अम्बानीलाई कुनै पनि सूचीकृत कम्पनी वा सेबीमा दर्ता भएका बिचौलिया संस्थामा निर्देशक वा प्रमुख व्यवस्थापकीय कर्मचारीको रूपमा काम गर्न निषेध गरिएको छ।

रिलायन्स होम्स फाइनान्स लिमिटेडको पनि ६ महिनासम्म सेयर बजारमा कारोबारमा रोक लगाइएको छ भने कम्पनीलाई ६ लाख रूपैयाँ जरिवाना समेत गरिएको छ।

सेबीको अनुसन्धान र निष्कर्षहरू

सेबीको अनुसन्धानले आर्थिक वर्ष २०१८/१९ मा रिलायन्स होम्स फाइनान्स लिमिटेडका उच्च पदस्थ कर्मचारीहरू सहित अनिल अम्बानीले ऋणको नाममा अवैध रूपमा रकम सारेको पुष्टि गरेको छ। रिलायन्स होम्स फाइनान्स लिमिटेडले ऋणको रूपमा दिएको रकम अम्बानीसँग सम्बन्धित संस्थाहरूमा लगानी गरिएको थियो, जुन ऋण योग्यतामा खरो उत्रिएका थिएनन्। यसरी (diversion) सारेको रकमको कारण, रिलायन्स होम फाइनान्स लिमिटेड(RHFL)ले आफ्नो ऋण दायित्व पूरा गर्न नसकेको र कम्पनीलाई भारतीय रिजर्भ बैंकको अधीनमा समाधान प्रक्रियामा पठाइनु परेको हो।

 प्रभाव र अतिरिक्त कारबाही 

यो अनियमितताका कारण रिलायन्स होम फाइनान्स लिमिटेडको (RHFL) सार्वजनिक शेयरधारकहरूले ठूलो घाटा व्यहोर्नु परेको छ। कम्पनीको शेयर मूल्य मार्च २०१८ मा ₹५९.६० बाट घटेर मार्च २०२० सम्ममा ₹०.७५ मा झरेको थियो। हालसम्म पनि ९ लाखभन्दा बढी शेयरधारकहरूले रिलायन्स होम फाइनान्स लिमिटेडमा लगानी गरिरहेका छन्, जसले गर्दा उनीहरूलाई प्रत्यक्ष रुपमा यस वित्तीय अनियमितताको असर परेको छ।

सेबीले रिलायन्स होम फाइनान्सलाई ६ महिनासम्म सेयर बजारमा कारोबार गर्न रोक लगाउँदै, ₹६ लाख जरिवाना पनि गरेको छ। साथै, अनिल अम्बानीसँगै रिलायन्स होम फाइनान्स लिमिटेडका अन्य उच्च पदस्थ अधिकारीहरू, जस्तै अमित बाप्ना, रविन्द्र सुधलकर, र पिंकेश आर शाहलाई पनि जरिवाना गरिएको छ। सेबीको यो कारबाहीले पुँजीबजारमा पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्ने उसको दृढ प्रतिबद्धतालाई प्रस्ट पारेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}