कस्ता छन् पछिल्लो १७ बर्षमा नेपालमा भएका विमान दुर्घटना?

बुधबार, ९ श्रावण २०८१, ३:४७ PM
post-image

नेपालको भूगोलले गर्दा यहाँका विमान दुर्घटनाहरूको सम्भावना विश्वका अन्य देशहरू भन्दा धेरै बढी छ। यसको प्रमुख कारणहरुमा नेपालका उच्च हिमालहरु, पहाडी क्षेत्रहरु, मौसमको परिवर्तनशीलता, र सीमित विमानस्थल संरचनाहरु रहेका छन्।

नेपालको भूगोललाई ध्यानमा राख्दा, यहाँका विमानस्थलहरु अत्यन्तै चुनौतिपूर्ण स्थानहरुमा रहेका छन्। उदाहरणको लागि, लुक्ला विमानस्थललाई विश्वको सबैभन्दा खतरनाक विमानस्थल मानिन्छ। यहाँका धावनमार्ग साना र उकालोमा रहेको हुँदा, विमान अवतरण र उडान दुवैमा कठिनाई आउँछ। साथै, मौसमको आकस्मिक परिवर्तनले गर्दा विमानस्थलको दृश्यता कम हुन्छ जसले गर्दा विमानचालकलाई थप कठिनाइ हुन्छ। विशेषगरी, हिमाली क्षेत्रहरुमा बादलले छोपिने, हावाहुरी चल्ने, र हिमपात हुने सम्भावना धेरै उच्च हुन्छ। यी सबै कारणहरुले गर्दा विमान दुर्घटनाको सम्भावना बढाउँछ।

नेपालमा सीमित र अविकसित विमानस्थल संरचनाहरु पनि एक महत्वपूर्ण कारक हो। धेरै विमानस्थलहरुमा आधुनिक उपकरण र प्रबिधिको अभाव छ। यसले गर्दा पाइलटहरुले उडानको समयमा थप चुनौतिहरु सामना गर्नुपर्छ। विमानस्थलमा आवश्यक उपकरणहरुको अभावले गर्दा अवतरण र उडानको क्रममा समस्या आउने र दुर्घटनाको सम्भावना बढ्ने गर्दछ।

नेपालमा भएका केही विमान दुर्घटना

  • ज्यानुअरी २०२३ः काठमाण्डूबाट चालकदलका चार र ६८ यात्रुसहित उडेको यती एअरलाइन्सको ATR 72 विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा पर्दा सबै जनाको मृत्यु
  • मे २०२२ - पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • एप्रिल २०१९ - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}